सत्तारुढ र प्रमुख प्रतिपक्षबीचको टकराबले संसद प्रभावित

चैत्र २७, २०८० | काठमाडौं

सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीचको टकराबले प्रतिनिधिसभाको आजको बैठक प्रभावित हुने देखिएको छ । 

सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सम्बन्धमा संसदीय छानबिन समिति बनाउन भन्दै प्रतिपक्षी कांग्रेसले आजसम्मको अल्टिमेट दिएको थियो । 

सभामुख देवराज घिमिरलेले हिजो बोलाएको बैठकमा दलहरुबीच सहमति हुन नसकेपछि आजको बैठक प्रभावित हुने संकेत देखिएको हो । प्रतिनिधिसभाको बैठक संघीय संसद् भवनमा बिहान ११ बजे बस्दैछ ।

संसदीय छानबिन समिति बनाउनुपर्ने अडानबाट कांग्रेस पछि नहटेपछि आजको बैठक बस्ने सम्भावना न्यून छ । 

सहकारीको रकम अपचलन गरेको प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने बताउँदै आएको कांग्रेसले आफूहरुको माग सम्बोधन नभए बैठक चल्न नदिने अडान लिएको छ । 

यसअघि गृहमन्त्री लामिछाने सम्बद्ध कार्यसूची बाहेकमा संसद्को काम कारबाहीमा अवरोध नपुर्‍याउने बताएको कांग्रेसले यही चैत २१ गतेको प्रतिनिधिसभाको बैठकमा भने संसदीय समिति गठनको मागलाई थप चर्काएर सदन नै ठप्प पार्ने चेतावनी दिएको थियो । 

सभामुख देवराज घिमिरेले गतिरोध हटाएर संसद्लाई सहज रुपमा काम कारबाहीमा फर्काउने पहल स्वरुप हिजो सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरुसँगै राखेर छलफल गरेपनि निकास निस्कन सकेन । 


प्रतिक्रिया