सुदूरपश्चिममा ४ सिट भएको एकीकृत समाजवादीका नेता मुख्यमन्त्री नियुक्त

वैशाख ६, २०८१ | धनगढी

सत्ता राजनीतिका कारण सुदूरपश्चिम प्रदेशमा ४ सिट मात्र रहेको एकीकृत समाजवादी पार्टीका नेता मुख्यमन्त्री बनेका छन् ।

 केही दिनको रस्साकस्सीपछि एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ चौधरी पक्षधर सांसद र स्वतन्त्र सांसदको समर्थनमा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बन्नुभएको हो ।

केन्द्रीय सत्ता गठबन्धनमा समेत हलचल हुने सङ्केत देखिएपछि सत्तारुढ दलहरु एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भएका हुन् । एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भए पनि एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने अडान लिएपछि अन्योल भएको थियो ।

त्यसपछि एकीकृत समाजवादीले काँग्रेससँग मिलेर भएपनि मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेपछि एमाले सोडारीलाई मुख्यमन्त्री मान्न तयार भएको हो । आफूसँग बहुमत रहेको दावी गर्दै सोडारीले गरेको प्रस्ताव स्वीकार गर्दै प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यसअघि पहिलोपटक गरिएको आह्वानमा नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले गरेको दाबी प्रदेश प्रमुखले अस्वीकार गर्दै मुख्यमन्त्रीका लागि पुनः दावी पेश गर्न आव्हान गर्नुभएको थियो ।  


प्रतिक्रिया