जापानी विदेशमन्त्री काठमाडौंमा

वैशाख २३, २०८१ | काठमाडौं

जापानी विदेशमन्त्री योको कामीकावा नेपालको एकदिने भ्रमणका लागि काठमाडौं आइपुग्नुभएको छ ।

जापानी विदेशमन्त्री योकोलाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको काठमाडौं आउनुभएको हो ।

नेपाल भ्रमणका क्रममा उहाँले परराष्ट्रमन्त्री श्रेष्ठसँग प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै, उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भेटमा दुई मुलुकबीच कूटनीतिक सम्वन्ध एवं अन्य आर्थिक सहकार्यबारे छलफल हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले जानकारी दिनुभयो । सन् २०२६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठ पुग्दैछ । सो विषयमा पनि दुवै देशका सरकारी अधिकारीबीच आज छलफल हुने राईको भनाई छ ।

जापानले नेपालको विद्युत, सडक, खानेपानी लगायत पूर्वाधार निर्माण तथा कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्दै आएको छ । जापानकी विदेशमन्त्री योको आजै स्वदेश फर्किनु हुनेछ । 


प्रतिक्रिया