जनता समाजवादी पार्टी विभाजित, अशोक राई नेतृत्वको नयाँ पार्टी दर्ता गर्न निवेदन

वैशाख २३, २०८१ | काठमाडौं

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएको छ ।

प्रतिनिधिसभामा १२ सिट भएको जसपाबाट ७ जना सांसदले पार्टी परित्याग गर्दै नेता अशोक राईको नेतृत्वमा नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिइएको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पाटी जसपा मात्र राखिएको बताइएको छ ।

नयाँ पार्टीमा सांसदहरु अशोक राई, वीरेन्द्र महतो, प्रदीप यादव, सुशीला श्रेष्ठ, नवलकिशोर साह सुडी, हसिना खान र रञ्जुकुमारी झा आवद्ध भएका छन् । नेता प्रदीप यादवले आयोगमा नयाँ पार्टी दर्ताका लागि निवदेन दिएको बताउनुभयो ।

पार्टी परित्याग गरेका मध्ये नवल किशोर साह सुडी वर्तमान सरकारमा वन तथा वातावरण मन्त्री हुनुहुन्छ । पार्टी अध्यक्ष एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला पार्टी विभाजित भएको हो ।

पार्टी विभाजनपछि जसपामा अध्यक्ष यादवसहित ५ जना मात्र सांसद रहने भएका छन् । यादवसँगै दीपक कार्की, प्रकाश अधिकारी, राजकिशोर यादव र रेखा यादव हुनुहुन्छ ।

स्वास्थ्यमन्त्री समेत रहेका जसपाका अध्यक्ष यादव अमेरिका भ्रमण सकेर आजै राति स्वदेश फर्किदै हुनुहुन्छ । यसैबीच जसपा नेपालका प्रवक्ता मनिष कुमार सुमनले पार्टी विभाजनबारे आधिकारिक जानकारी नभएको बताउनुभयो ।

रेडियो कान्तिपुरसँग कुरा गर्दै उहाँले पार्टी अध्यक्ष नै मूलुक बाहिर रहेकाले आफूहरुलाई पनि आधिकारिक जानकारी नभएको बताउनुभयो । 


प्रतिक्रिया