कान्तिपुर अध्यक्षको पक्राउः प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यले भएको सम्पादकहरुको निष्कर्ष

जेष्ठ ९, २०८१ | काठमाडौं

मूलधारका मिडियाका सम्पादकहरुले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यले कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ५ बूँदे पत्र पठाएका छन् ।

अध्यक्ष सिरोहियामाथि लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ नगरी पक्राउ गरिएको घटनाले गम्भीर प्रश्न खडा गरेको सम्पादकहरूको निष्कर्ष छ । उनीहरुले प्रधानमन्त्रीलाई पठाएको पत्रमा भनिएको छ, ’जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ ।

कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं,।” गृहमन्त्री रवि लामिछाने स्वयं र उहाँ विगतमा सम्वद्ध गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीमा आममानिसले राखेको करिब एक अर्ब रुपैयाँ अपचलन गरेको समाचार लेखेपछि मिडियामाथि शत्रुभावका साथ जाइलागेको सम्पादकहरूको पत्रमा उल्लेख छ ।

यस्तै, पालिका तहमा भएका छानबिन र स्वयं नेपाल प्रहरीको सिआइबीले गरेका छानबिनले गृहमन्त्री लामिछाने र लामिछाने सञ्चालक रहेको गोरखा मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित गरेको विषयलाई समेत सम्पादकहरूले प्रधानमन्त्रीलाई पत्रमार्फत् स्मरण गराएका छन् ।  


प्रतिक्रिया