संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

जेष्ठ १०, २०८१ | काठमाडौं

सहकारीको बचत अपचलनको विषयमा संसदीय छानबिन समितिको क्षेत्राधिकारको टुंगो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्दैछ । सत्ता र प्रतिपक्षीको आ–आफ्नै अडानका कारण निष्कर्षविहीन बन्दै आएको कार्यदलको बैठकमा आज सहमतिको प्रयास खोजिने कार्यदल सदस्यले बताएका छन् । 

कार्यदेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम समावेश गर्नुपर्ने कांग्रेसले माग यथावत राख्दा सत्ता पक्षले भने व्यक्तिको नाम भन्दा पनि समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै आएको छ । 

आजको बैठकमा सत्ता पक्षबाट कांग्रेसले माग गरेको विषयमा एउटा मस्यौदा प्रस्तुत गर्ने र त्यसमा कांग्रेसले सहमति जनाए कार्यादेश टुंगो लाग्ने बताइएको छ । 

सत्ता र प्रतिपक्षी दलका प्रतिनिधिबीच कार्यदेशमा सहमति जुट्न नसक्दा यसअघि मंगलबार बसेको बैठक निष्कर्षविहीन बनेको थियो । यद्यपि, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले भने बैठकमा सकारात्मक ढंगले छलफल भइरहेको र छिट्टै सहमतिमा पुग्ने बताउनु भएको थियो ।

यता, कार्यदलका सदस्य कांग्रेस सहमहामन्त्री जीवन परियारले भने कांग्रेसले उठाएका माग अनुसार कार्यदेश नभए सहमति हुन नसक्ने बताउनुभयो । बैठक सिंहदरबारस्थित कानून मन्त्रालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ ।

कार्यदलमा सरकारको तर्फबाट कानूनमन्त्री पदम गिरी र नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।


प्रतिक्रिया