सहकारी ठगीविरुद्ध काठमाडौंमा काँग्रेसको विरोध प्रदर्शन

जेष्ठ १३, २०८१ | काठमाडौं

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सहकारी ठगीको विरोध गर्दै काठमाडौंमा आज विरोध प्रदर्शन गरेको छ । संघीय संसद्मा चालु बजेट अधिवेशनको सुरुवातदेखि नै निरन्तर विरोधमा उत्रिएको काँग्रेसले पहिलो पटक सडकमा उत्रदै विरोध प्रदर्शन गरेको हो ।

केन्द्रीय कार्यसमितिको निर्णय अनुसार भएको प्रदर्शनमा काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रबाट काँग्रेसका नेता–कार्यकर्ता सहभागी भएका थिए ।

सो क्रममा काँग्रेसका नेता–कार्यकर्ताले सहकारीको बचत रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्ने, मिडियामाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गर्नुपर्ने लगायत नारा लेखिएका प्ले–कार्ड प्रदर्शन गरेका छन् ।

सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको काँग्रेसले लामिछानेले गृहमन्त्री भएपछि आफूमाथिको अनुसन्धान रोकेको आरोप लगाएको छ । आफूविरुद्ध समाचार लेखेको प्रतिशोधमा सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यकक्षमै प्रहरी पठाएर धरपकड गरेको काँग्रेसको भनाइ छ । 


प्रतिक्रिया