गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता

जेष्ठ १४, २०८१ | काठमाडौं

सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

रिट निवेदक अनुपम भट्टराईले लामिछानेविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग समेत गर्नुभएको छ । सो रिटको पेसी पर्सि बुधबार जेठ १६ गतेकालागि तोकिएको छ ।

यसअघि,सो रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो । दरपीठ बदरको माग गर्दै परेको रिटमा गत बधुबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो । सो आदेशपछि अधिवक्ता अनुपम भट्टराईले दायर गरेको महान्यायाधिवक्ता कार्यालय, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिट निवेदन दर्ता भएको हो ।

रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी बैधतामाथि प्रश्न उठाइएको थियो । पदमा बहाल रहँदा सहकारी ठगी छानबिनको अनुसन्धानलाई प्रभावित पार्ने भएकाले लामिछानेलाई पदबाट हटाउन उपयुक्त आदेश जारी गर्न समेत रिटमा माग गरिएको छ ।  


प्रतिक्रिया