नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक काठमाडौंमा बस्दै

असार ११, २०८१ | काठमाडौं

नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठक काठमाडौंमा आज बस्दैछ । बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुनले गर्नुहुनेछ । सो बैठकका लागि चीनका उपविदेशमन्त्री सुन वेइडोङ हिजो काठमाडौं आउनु भएको हो । 

उपविदेशमन्त्री सुनले नेपालको तीनदिने भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञिप्तमा उल्लेख छ । परराष्ट्र मन्त्रालयका अनुसार सुनको भ्रमणका अवसरमा हुने द्विपक्षीय संयन्त्रको बैठकमा दुई देशका सम्पूर्ण विषय र सहकार्यबारेमा छलफल हुनेछ । 

परराष्ट्र मन्त्रालयका अनुसार नेपालले छलफलका लागि चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रवर्धन, कनेक्टिभिटी बिस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्ध लगायत एजेन्डा तय गरेको छ । 

यस्तै, व्यापारमा नेपालबाट राँगाको मासु र हेलेज घाँस निर्यात गर्ने, व्यापार तथा भुक्तानीमा विज्ञ समूहको बैठक बस्ने बारे छलफल हुनेछ । नेपाल र चीनबीच राँगाको मासु र हेलेज घाँस निर्यात गर्ने सम्झौता भइसकेको छ । 

व्यापार तथा भुक्तानीका लागि दुई मुलुकबीच विज्ञ समूह बनाउने निर्णय भइसकेपनि हालसम्म बैठक बस्न सकेको छैन । सीमापार २२० केभी प्रसारण लाइन निर्माण र नेपालमा चिनियाँ लगानीका परियोजनालाई छिटो सम्पन्न गर्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ । 

नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १५ औँ बैठक गत वर्ष बेइजिङमा भएको थियो । यसैबीच, चिनियाँ उपविदेशमन्त्री सुनले नेपालको तीनदिने भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्नुहुने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया