प्रतिनिधिसभाबाट बजेट पारित

असार ११, २०८१

प्रतिनिधिसभाबाट आगामी आर्थिक बर्षका लागि विनियोजन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले राखेको प्रस्ताव अनुसार विनियोजन विधेयक बहुमतले पारित भएको हो । विनियोजन विधेयक पारित भएपछि अब बजेटसँग सम्वन्धि अन्य दुई विधेयक पारित भएपश्चात् बजेट कार्यन्वयनमा जानेछ । सरकारले ल्याएको राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक पारित भएपछि आगामी साउन १ गतेबाट बजेट कार्यन्वयन हुनेछ । विनियोजन विधेयकमाथिको छलफलका क्रममा प्रतिपक्षी दल मात्र नभई सत्ता पक्षका सांसदले समेत चर्को असन्तुष्टी जनाएका थिए । 

अर्थमन्त्री पूनले गत जेठ १५ मा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट ल्याउनुभएको थियो । बजेटमाथिको बहसका क्रममा सांसदहरुले दलका ठूला नेता र मन्त्री विशेषको निर्वाचन क्षेत्रमा बढी बजेट पारिएको भन्दै आलोचना गरेका थिए । यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक वर्ष २०८१÷८२ को बजेट तुलनात्मक रुपमा सन्तुलित, समन्यायिक एवंम नतिजामूलक रहेको दावी गर्नुभएको छ । संसद बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री दाहालले मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य अनुसार बजेट आएको दावी गर्नुभएको हो । बजेटले पाँच उद्देश्य, प्राथमिकता तथा रूपान्तरणकारी क्षेत्र निर्धारण गरेको उहाँको दावी थियो । 


प्रतिक्रिया