लुम्बिनीका नवनियुक्त मुख्यमन्त्रीसहित ८ मन्त्रीले सपथ लिँदै

श्रावण ९, २०८१ | बुटवल

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको सपथ लिँदै हुनुहुन्छ । नवनियुक्त मुख्यमन्त्री आचार्यसहित ८ मन्त्रीले आज सपथ ग्रहण गर्दैछन् । 

प्रदेश प्रमुख अमिक शेरचनको बुटवलस्थित कार्यालयमा बिहान साढे ८ बजे सपथ ग्रहणका लागि तयारी गरिएको छ । एमाले र कांग्रेसको समर्थनमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य सोमबार मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । 

मन्त्रालय बाँडफाँड र मन्त्रीको टुंगो नलागेको भन्दै सबै मन्त्रीको एकै साथ सपथ गराउने गरी मुख्मन्त्री आचार्यकै अनुरोधमा बुधबारका लागि सपथ ग्रहण तय गरिएको थियो । तर, मन्त्रालयको संख्या र मन्त्रीको टुंगो लगाए पनि दुई दलबीच कुन मन्त्रालय कसले लिने भन्ने टुंगो लाग्न बाँकी छ ।

एमाले र कांग्रेसबीच ५/५ मन्त्रालय लिने सहमति छ । लुम्बिनीमा १२ मन्त्रालय छन् । २ मन्त्रालय साना दलका लागि राखिएको छ । मुख्यमन्त्री आचार्यका अनुसार एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दीनेश पन्थी, पाल्पाका खेम सारु र दाङकी सीता शर्मा चौधरी मन्त्री बन्दै हुनुहुन्छ । 

त्यस्तै नेपाली कांग्रेसबाट प्यूठानका सरोज थापा, बाँकेका बादशाह कुर्मी, गुल्मीका धनेन्द्र कार्कीको मन्त्री बन्ने निश्चित भएको छ । बर्दियाका जन्मजय तिमिल्सिना र दाङका प्रचण्डविक्रम न्यौपाने पनि मन्त्री बन्ने सम्भावना छ । तर, उनीहरु दुबै जनाको विषयमा निणर्य हुन बाँकी रहेको कांग्रेस स्रोतले बतायो । दुई जनाको टुंगो नलागेकाले कांग्रेसबाट ३ जना मात्र बुधबारको सपथ ग्रहणमा सहभागी हुने सम्भावना छ ।


प्रतिक्रिया