बाग्मती प्रदेशका मुख्यमन्त्री लामाले विश्वासको मत लिनु हुँदै

श्रावण १५, २०८१ | मकवानपुर

बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज (मंगलबार) प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मत लिन लाग्नु भएको हो । 

नेकपा एमालेको समर्थनमा बाग्मती प्रदेश सभाको कांग्रेस संसदीय दलका नेता लामा साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । कुल १ सय १० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५६ सांसदको मत आवश्यक पर्छ । प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसद रहेका छन् । यो संख्या सरकार गठनका लागि पर्याप्त हो । 

संघीयता लागू भएयता बाग्मतीमा पहिलो पटक कांग्रेसको नेतृत्वमा सरकार गठन भएको हो । कांग्रेस र एमाले बाहेक विश्वासको मतको विषयमा अन्य दलले भने निर्णय गरिसकेका छैनन् । 

केन्द्रीय सत्ता समीकरण अनुसार माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी नेमकिपा र हाम्रो नेपाली पार्टी मुख्यमन्त्री लामाको विपक्षमा छन् । प्रदेश सभामा माओवादीका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३, हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । 

मुख्यमन्त्री लामाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई विश्वासको मतको पक्षमा मतदान गर्न आह्वान समेत गर्नु भएको छ । प्रदेश सभाबाट सहजै विश्वासको मत पाउने निश्चित भएकोले मुख्यमन्त्री लामाले यसअघि नै आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिइसक्नु भएको छ । 

लामा नेतृत्वको सरकारमा एमालेका ६ जना र कांग्रेसबाट ७ जना मन्त्री छन् । प्रदेशमा १३ वटा मन्त्रालय रहेकोमा १४ जना मन्त्री नियुक्त भएका छन् । कांग्रेस सांसद मधुकुमार श्रेष्ठलाई मन्त्री नियुक्त गरिए पनि मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन । श्रेष्ठलाई निकट भविष्यमा शहरी विकास मन्त्रालय गठन गरी जिम्मेवारी दिने तयारी मुख्यमन्त्री लामाले गरेको बुझिएको छ ।

कांग्रेसबाट मन्त्री बनेका कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना, हरि प्रभा खड्गीलाई सामाजिक विकास, सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानून, श्याम खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाई, मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुद र विमल ठकुरी संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

एमालेका प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपंछी विकास, अमनकुमार मास्केलाई भौतिक पूर्वाधार विकास, कृष्णप्रसाद सिलवाललाई वन तथा वातावरण, सुकमाया तामाङलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन, किरण थापालाई स्वास्थ्य र प्रेमभक्त महर्जनलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया