डीपी अर्याललाई रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी
पुस ८, २०८१ | काठमाडौं
पार्टी सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसहितको मद्दा दायर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ ।
रास्वपा सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको सो पार्टीका नेताहरुले बताएका छन् । सभापति लामिछानेले पार्टीको कार्यवाहक सभापति अर्याललाई दिने पत्र पठाएको र सो प्रस्ताव पार्टीको सचिवालय बैठकले अनुमोदन गरेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनभयो ।
लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि सांसद पद स्वतः निलम्बनमा पर्ने देखिएको छ । लामिछाने सांसदबाट निलम्बन भएमा रास्वपा संसदीय दलले पनि नयाँ नेता समेत चुन्नुपर्नेछ । यसैबीच, रास्वपा सांसदहरुले सभामुख देवराज घिमिरेलाई भेटेर पार्टी सभापति लामिछानेको सांसद पद निलम्बन नगर्न आग्रह गरेका छन् ।
सभामुखको कार्यकक्षमा पुगेर रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, सांसद सोविता गौतम र गणेश पराजुलीले सभापति लामिछानेलाई निलम्बन नगर्न ध्यानाकर्षण गराएका हुन् ।
प्रमुख सचेतक परियारले आफूहरुको मागलाई सभामुख घिमिरेले गम्भीरतापूर्वक लिने बताउनुभएको जानकारी दिनुभयो । रास्वपाका नेताहरुले मुद्दा पर्दैमा सांसद पद निलम्बन गर्न नमिल्ने बताएका छन् ।