भागवण्डाको सकसले कोशी र गण्डकी प्रदेश सरकार गठनमा ढिलाई

श्रावण ३१, २०८१ | काठमाडौं

केन्द्रमा नेपाली काँग्रेस र एमालेबीच सत्ता सहकार्य भएको डेढ महिना भईसक्दा पनि कोशी र गण्डकी प्रदेशमा भने मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको छ । कोशीमा काँग्रेसले मन्त्री छनोट गर्न नसक्दा र गण्डकीमा मन्त्रालय बाँडफाँटमा सहमति नजुट्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको हो ।

एमाले नेतृत्वको कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको दुई साता भइसक्दा समेत काँग्रेसले मन्त्री पठाउन सकेको छैन । संस्थापन र इतरपक्षबीच भागवण्डा नमिल्दा काँग्रेस सरकारमा सहभागी नभएको हो । एमालेसँगको सहमति अनुसार कोशीमा काँग्रेसको भागमा चार मन्त्री र दुई राज्यमन्त्री परेको छ ।

पार्टीभित्रको गुट व्यवस्थापनमा जटिलता उत्पन्न हुँदा काँग्रेस कोशी प्रदेश संसदीय दल केन्द्रको निर्णयको पखाईमा छ । मन्त्री पठाउने विषयमा छलफल नहुँदै केन्द्रीय कार्यसमिति बैठक बोलाएकाले त्यसैमा केन्द्रीत भएको नेताहरुको भनाइ छ ।

केन्द्रीय समिति बैठक सकिए लगत्तै सरकारमा जाने मन्त्रीहरुको टुंगो लाग्ने काँग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिनुभयो । यता, काँग्रेसको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारमा एमाले सहभागी भएको छैन ।

एमालेले गण्डकी प्रदेश सरकारमा सम्मानजनक स्थान पाउनुपर्ने बताउँदै आएको छ । हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ मन्त्रालय रहेकोमा त्यसलाई नबढाइ काँग्रेस र एमालेबीच मुख्यमन्त्रीबाहेक ५०–५० प्रतिशत मन्त्रालय बाँडफाँटको खाका एमालेले प्रस्तुत गरेको छ । 


प्रतिक्रिया