महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका प्रस्थान

आश्विन ४, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गर्नुभएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् । 

प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहसको विषय ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ रहेको छ । प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनु हुनेछ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ । साथै, प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम समेत रहेको छ । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कने कार्यतालिका छ । 


प्रतिक्रिया