इमेज सहकारीका अध्यक्ष एवम् ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपाली पक्राउ

आश्विन ११, २०८१ | काठमाडौं

सहकारी बचतकर्ताको रकम अपचलन गरी २०८० जेठबाट फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् ।

उनलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको छ । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार थिए । सहकारी प्रकरणमा मुछिएका अरू केही सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चलेपनि उनी कारबाहीको दायराबाहिर थिए । उनी इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् ।

उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा विचाराधीन छ ।

उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । नेपाली ०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया