नवलपरासी पश्चिमको दाउन्ने सडक एकतर्फी सञ्चालन
आश्विन १५, २०८१ | नवलपरासी पश्चिम
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको दाउन्ने सडक एकतर्फी सञ्चालनमा आएको छ । पहिरोका कारण भासिएको दाउन्नेमा सडकखण्डमा गएरातिदेखि डाइभर्सन निर्माणको काम सुरु गरिएको थियो ।
भासिएर अवरुद्ध भएको दाउन्ने सडक आज बिहान साढे ८ बजेबाट एकातर्फी सञ्चालनमा आएको बर्दघाटस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
बर्दघाट नगरपालिका–४ खुर्सानी खोला नजिकै सोमबार सडक भासिएको थियो । जसका कारण पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको हो ।
प्रहरीका अनुसार साना गाडी र मोटरसाइकलको आवातजावत सुरु भएको छ । धेरै लामो जामका कारण ट्राफिक ब्यवस्थापनामा भने समस्या भएको प्रहरीले जनाएको छ ।
सडकमा अलपत्र परेका सवारीलाई पूर्वतर्फ दुम्कीबास र पश्चिमतर्फ बर्दघाटमा रोकिएको छ । अवरुद्ध सडक खुलाउनका लागि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सुरक्षा निकायका प्रमुख र सडक विभागको टोली स्थलगत रुपमा खटिएका छन् ।