सामाजिक सुरक्षा कोषमा सहभागी हुने व्यावसायिक फर्मको संख्या न्यून

आश्विन २३, २०८१ | काठमाडौं

निकै तामझामका साथ ६ बर्ष अघि सुरु गरिएको सामाजिक सुरक्षा कोषमा सहभागी हुने उद्योग तथा व्यावसायिक फर्मको संख्या अपेक्षा अनुसार बढ्न सकेको छैन ।

रोजगारमा आधारित सुुरक्षा कोषमा अहिलेसम्म १९ हजार ६ सय ७१ व्यावसायिक संस्था मात्रै सूचीकृत भएका छन् । जबकी उद्योग विभागको तथ्याङ्क अनुसार मुलुकमा ९ लाख भन्दा बढी उद्योग एवं व्यावसायिक फर्म दर्ता भएका छन् ।

निजी क्षेत्रका सम्पूर्ण उद्योग व्यवसायीलाई कोषको अवधारणामा ल्याउने सरकारले बताए पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । श्रम ऐनमा भने सबै औद्यागिक प्रतिष्ठान कोषको अवधारणामा आउनुपर्ने उल्लेख छ ।

सामाजिक सुरक्षा कोषका प्रवक्ता विबेक पन्थीले उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरु कोषमा सूचीकृत हुने बाध्यकारी व्यवस्था भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्नुभयो । कतिपय उद्योग व्यवसाय दर्ता भएर पनि सञ्चालन आउन नसक्दा कोषमा आवद्ध हुन नसकेको उहाँको भनाई छ ।

कोषमा योगदानकर्ताको संख्या भने १६ लाख ७१ हजार नाघेको छ । सामाजिक सुरक्षा कोषमा अहिलेसम्म ६६ अर्व १८ करोड रुपैयाँ जम्मा भएको छ । यस्तै, श्रमिकले कोषबाट ११ अर्ब १५ करोड रुपैयाँ दाबी भुक्तानी पाएको प्रवक्ता पन्थीको भनाई छ ।

लद  


प्रतिक्रिया