एनपीएल फाइनल : सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै

पुस ६, २०८१ | काठमाडौं

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेपछि पहिला ब्याटिङ रोजेका हुन् । दुवै टोलीले पछिल्लो खेल खेलेको टोलीबाट कुनै खेलाडी परिवर्तन गरेका छैनन् ।

यी दुई टोलीलाई सुरुदेखि नै उत्कृष्ट टिम मानिँदै आएको थियो । त्यसैले फाइनल पूर्णतः रोमाञ्चक, सनसनीपूर्ण र प्रतिस्पर्धात्मक हुने अनुमान छ । सुदूरपश्चिमले जनकपुरलाई क्वालिफायर १ मा र जनकपुरले कर्णाली याक्सलाई क्वालिफायर २ मा पराजित गरी फाइनलमा पुगेका थिए । न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसमले अलराउन्ड प्रदर्शन गर्दै जनकपुरलाई फाइनलमा पुर्‍याएका थिए ।

सुदूरपश्चिमले लिगको शीर्ष स्थानमा रहेर क्वालिफायर खेल्दा जनकपुरलाई ८ विकेटले पराजित गरेर फाइनल पुगेको हो । यसअघि लिग चरणमा भएको भेटमा सुदूरपश्चिमले जनकपुरलाई ५१ रनमा अलआउट गर्दै ७२ रनको फराकिलो जित निकालेको थियो ।

आठ टिम सहभागी एनपीएलको लिग चरण सकिँदा सुदूरपश्चिम र जनकपुर नै शीर्ष दुई स्थानमा थिए । जनकपुर सुरुवाती केही चरणका खेलपछि पहिलो स्थानमा थियो । पछि उसलाई सुदूरपश्चिमले उछिनेको हो । 

मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा उत्रेको सुदूरपश्चिमले लिग चरणमा एउटा खेल मात्र गुमाएको थियो । लिग चरणमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको थियो । आसिफ शेख मार्की र अनिल शाह कप्तान रहेको जनकपुरले लिग चरणका ७ मध्ये ५ खेल जितेको थियो । 


प्रतिक्रिया