दुर्गा भवानीको पूजाआराधना गरी महाअष्टमी पर्व मनाइँदै

आश्विन २५, २०८१ | काठमाडौं

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज दुर्गा भवानीको विशेष पूजाआराधना गरी मनाउँदै छन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । 

महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन शास्त्रसम्मत रुपमा दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । 

दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ । 

आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्त्व रहेको धर्मशास्त्रविदको भनाइ छ । आश्विन शुक्ल अष्टमीका दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ ।

आजका दिन उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बगलामुखी लगायत मन्दिरमा पनि बलिसहित पूजा आजा गर्नेको बिहानैदेखि भीड लाग्ने गर्दछ । 

यसैगरी उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, लगायत शक्तिपीठमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ । 

आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेष रुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो । 

पशुबलि नचढाउनेहरुले भने आज पूजा कोठामा आफ्नो कुल परम्परा अनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मुला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।


प्रतिक्रिया