साफ च्याम्पियन्सिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै
कार्तिक १४, २०८१ | काठमाडौं
साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि घरेलु टोली नेपालले साविक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।
नेपाल र बंगलादेश दुवै टोली यस संस्करणमा अपराजित छन् । नेपाल पहिलो पटक साफ च्याम्पियन बन्ने लक्ष्यमा छ । यसअघि हिजो आयोजित पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बंगलादेशविरुद्ध जित्ने बताएकी छन् ।
सेमिफाइनलमा जस्तै फाइनलमा पनि दर्शकको साथसँगै प्रशिक्षकको रणनीतिलाई मैदानमा उतार्ने उनले बताइन् । यस्तै, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले अघिल्ला फाइनलको कमजोरी हटाउँदै उपाधि जित्नका लागि प्रतिस्पर्धा गर्ने बताए । नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनसिपको फाइनल पुगेर पनि उपाधि जित्न सकेको छैन ।
यसअघिका ६ मध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो । अहिलेसम्म भारतले सर्वाधिक पाँच पटक र बंगलादेशले एक पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।
यो पटकको साफ च्याम्पियनसिपले उपाधिको खडेरी तोडिने अपेक्षा छ । यसअघि सन् २०२२ मा काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग नै पराजित भएको थियो ।
साफ च्याम्पियनसिपमा मात्रै नेपाल र बंगलादेश चार पल्ट भिडेका छन् । त्यसमा तीन खेल नेपालले जितेको थियो भने एकमा बंगलादेश विजयी भएको थियो ।