खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले छठपछि धान खरिद गर्ने

कार्तिक १४, २०८१ | काठमाडौं

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगञ्जस्थित शाखाले छठ पर्वपछि मात्र किसानको धान खरिद गर्ने भएको छ ।

शाखा प्रमुख पङ्कज कुमार झाले यसवर्ष केन्द्रबाट ४२ हजार क्विन्टल धान खरिदको कोटा प्राप्त भएको भन्दै छठ पर्वपछि मात्र खरिद प्रकृया थाल्ने बताउनुभयो ।

किसानले धान भित्र्याई नसकेको तथा जिरा मसिनो धानको हकमा जिल्लास्थित प्राथमिक खरिद समितिले मूल्य निर्धारण गर्न बाँकी रहेकोले छठपछि मात्रै खरिद प्रकृया थालिने उहाँको भनाई छ ।

यसवर्ष ४२ हजार मध्ये ३२ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो धान खरिदको कोटा प्राप्त भएको कम्पनीको वीरगञ्जस्थित शाखाका प्रमुख झाले बताउनुभयो ।

सोना मन्सुली धानको समर्थन मूल्य यसअघिनै संघीय सरकारले प्रति क्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा निर्धारण गरिसकेको छ । केन्द्रले यसवर्ष वीरगञ्ज बाहेक बारा, रौतहट, सर्लाही, मकवानपुर र चितवनबाट किसानको धान खरिद गर्ने तयारी गरेको छ ।

ती जिल्लाहरुमा स्थानीय तहले सुरक्षा र गोदामको प्रबन्ध मिलाइ दिए कम्पनीले धान गर्ने खरिद गर्ने तयारी गरेको झाले बताउनुभयो । 


प्रतिक्रिया