पाल्पाको पिपलडाँडा–बाँकामलाङ्ग सडकखण्डको मर्मत सुरु
कार्तिक १८, २०८१ | पाल्पा
राष्ट्र्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पाल्पाको पिपलडाँडा–बाँकामलाङ्ग सडकखण्डमा मर्मतको काम सुरु भएको छ । गत असारमा पिपलडाँडा–रामपुर–बाँकामलाङ्ग खण्डको ४५ किलोमिटर क्षेत्रमा खसेको पहिरो निर्माण व्यवसायीले पन्छाउन गर्न सुरु गरेको हो ।
चार महिनाअघि खसेको पहिलो कात्तिक पहिलो सातासम्म नपन्छाएपछि चौतर्फी विरोध भएपछि बल्ल मर्मतको काम थालिएको हो । सो सडकखण्डको सिद्धार्थ राजमार्ग पिपलडाँडादेखि रामपुर नगरपालिका क्षेत्र हुँदै बाँकामलाङ्गसम्म ३० बढी स्थानमा पहिरो खसेर सडक एकतर्फी भएपछि स्थानीयले विरोध जनाएका थिए ।
कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका अनुसार निर्माण कम्पनी इकेके इन्फ्रास्ट्रक्चर प्रालिले पहिरो खसेका, बिग्रेका, भासिएका, भत्किएका र उप्किएका स्थानमा मर्मतको काम सुरु गरेको हो ।
आयोजना कार्यालयका सूचना अधिकारी अरुण खत्रीका अनुसार निर्माण कम्पनीले काममा ढिलाई गरेकाले समस्या हुँदै आएको थियो । असारमा वर्षाका कारण सडकका विभिन्न स्थानमा सडक भासिएको थियो ।
पिपलडाँडा र निक्कीचौरको बीचमा २० मिटर सडक भासिएको छ भने असेर्दी र सहदीखोलाको बीचमा पहिरो खसेर सडक एकतर्फी भएको थियो । पहिरो खसेका साथै भासिएका क्षेत्रमा काम धमाधम भइरहेको आयोजना कार्यालयका प्रमुख कल्पना अधिकारीले बताउनुभयो ।
असेर्दी नजिकै सडक माथिल्लो भागबाट भासिएको छ । पहिरो नहटाउँदा सडकमा साना सवारी सञ्चालनमा समेत समस्या भएपछि स्थानीयले गुनासो गर्दै आएका थिए । गेझा, खालीवन, रामपुर, दर्छा, गाँडाकोट, बाँकामलाङ्ग क्षेत्रमा खसेको पहिरोले गर्दा यात्रामा कठिनाई भोग्नु परेको यात्रुको गुनासो थियो ।
सहदी खोलामा दुई वर्षअघि खसेको पहिरो अझै पन्छाएको छैन । माथिल्लो भाग र तल्लो भागमा भासिएपछि सडक खण्डमा यात्रा गर्न समेत कठिनाई हुने गरेको छ ।
रामपुर नगरपालिका–१०, गेझाको सिकोडाँडा र च्याङ्गलिङको बीचमा झण्डै ५० मिटर क्षेत्रमा सडक भासिएको स्थानमा मर्मतको काम सुरु गरिएको आयोजना प्रमुख अधिकारीले बताउनुभयो । अन्यत्र पनि सडक छेउमा भासिएका स्थानमा काम अघि बढाइएको छ । निर्माण कम्पनीले गैंडाकोटतर्फबाट काम गर्दै आएकाले पाल्पातर्फ केही ढिला भएको जनाएको थियो ।