परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किंदै
मंसिर १५, २०८१ | काठमाडौं
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चीनको तीन दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि त्यसतर्फ जानु भएकी मन्त्री राणा छन्दुबाट आज स्वदेश फर्कन लाग्नु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका एजेन्डा तय गर्नेगरी राणा गत बिहीबार त्यसतर्फ जानु भएको थियो । भ्रमणका क्रममा मन्त्री राणाले चिनियाँ समकक्षी वाङ यीसंग द्धिपक्षीय भेटवार्ता गर्नुभएको थियो ।
चीनको सिचुआव प्रान्तस्थित छेन्दु सहरमा भएको भेटवार्तामा दुई देशबीच सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री ओलीको आसन्न भ्रमणबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै, दुई देशबीच सहयोग आदानप्रदानका विषयमा पनि संवाद भएको मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री राणाले चिनियाँ विदेशमन्त्री वाङलाई नेपाल भ्रमणको पनि निम्तो दिनुभएको छ ।
यस्तै, वार्ताका क्रममा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको क्रममा समझदारी एवं सम्झौता हुने विभिन्न आयोजना एवं सहयोग आदान–प्रदानबारे पनि छलफल भएको थियो ।
प्रधानमन्त्री ओली पर्सि सोमबार चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री डा.राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनुहुनेछ ।