साउथह्याम्पटनले ब्राइटनलाई बराबरीमा रोक्यो

मंसिर १५, २०८१ | काठमाडौं

इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले ब्राइटनलाई बराबरीमा रोकेको छ । अमेरिकन एक्सप्रेस स्टेडियममा गएराति भएको खेलमा घरेलु टोली ब्राइटनलाई साउथह्याम्पटनले १–१ गोलको बराबरीमा रोकेको हो । 

काओरु मितोमाले खेलको २९ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, ब्राइटनले अग्रता जोगाउन सकेन । खेलको ५९ औं मिनेटमा साउथह्याम्पटनका लागि फ्लिन डाउनेसले बराबरी गोल फर्काए । 

यो बराबरीका बाबजुद ब्राइटन १३ खेलबाट २३ अंकका लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । साउथह्याम्पटनलाई हराएको भए ब्राइटनले लिभरपुलसँगको दूरी ६ अंकमा झार्ने थियो । 

शीर्ष स्थानको लिभरपुलको १२ खेलबाट ३१ अंक छ । साउथह्याम्पटन १३ खेलबाट मात्र पाँच अंक जोडेर तालिकाको पुछारमा छ ।

यसैबीच, प्रिमियर लिग फुटबलमा आज विभिन्न पाँच खेल हुनेछन् । ब्रेन्टफोर्डले लेस्टर सिटी, क्रिस्टल प्यालेसले न्युकासल युनाइटेड, नटिङघम फरेस्टले इपस्विच टाउन, उल्भ्सले बर्नमाउथ र वेस्ट ह्यामले आर्सनलको सामना गर्नेछ । 


प्रतिक्रिया