कोशी प्रदेशको हिउँदे अधिवेशन आज सुरु हुँदै
माघ ७, २०८१ | काठमाडौं
कोशी प्रदेशको हिउँदे अधिवेशन चार महिनापछि आजबाट सुरु हुँदैछ । विराटनगरमा दिउँसो २ बजेबाट प्रदेशसभाको छैंटौं तथा हिउँदे अधिवेशन सुरु हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । कोशी प्रदेशको पाँचौं अधिवेशन गत असोज ४ गते अन्त्य भएको थियो ।
चार महिनापछि सुरु भएको अधिवेशनका लागि विजनेश पर्याप्त रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतम राज अमात्यले बताउनुभयो । आजको बैठकका लागि कार्यसूचीमा पाँच वटा विषयहरु छन् ।
सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गर्नेछन् । त्यसपछि केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेश हुनेछ । सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेश गर्ने पनि कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता अमात्यले जानकारी दिनुभयो ।
यस्तै, मुख्य न्यायाधीवक्ताको काम कर्तव्य अधिकार र सेवाको शर्त सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबल गर्ने कार्यसूची रहेको छ । अधिवेशन सुरु भएको पहिलो दिन भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले आफ्नो मन्तव्य राख्ने कार्यसूची पनि रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।