संघीय संसदको पाँचौ हिउँदे अधिवेशन शुरु
माघ १८, २०८१
विधेयक अधिवेशनको रुपमा हेरिएको संघीय संसदको पाँचौ हिउँदे अधिवेशन शुरु भएको छ । कानून निर्माणको सवालमा प्रभावकारी काम हुन नसकेको भन्दै आलोचना भइरहँदा संघीय संसदको दुवै सदनको नयाँ अधिवेशन प्रारम्भ भएको हो ।
पहिलो दिन सरकारले यसअघि ल्याएका ६ वटा अध्यादेश दुवै सदनमा पेश गरेको छ । सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, निजीकरण पहिलो संशोधन अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश भएको छ । त्यस्तै, भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशले संसदमा औपचारिक प्रवेश पाएको छ ।
त्यस्तै, माथिल्लो सदन राष्ट्रिय सभाको बैठकमा मिडिया काउन्सिल विधेयक र नवीकरणीय ऊर्जा सम्वन्धि विधेयकको प्रतिवेदन पेश भएका छन् । यसैबीच, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले नयाँ अधिवेशनमा कानून निर्माणलाई प्राथमिकतामा राखी काम हुने विश्वास व्यक्त गरेका छन् । सभामुख देवराज घिमिरेले कानून निर्माण र जनसरोकारको मुद्धामा अधिवेशन फलदायी हुनुपर्ने बताउनुभयो ।
विगतमा जस्तै यो पटक पनि संसदमा सत्तापक्ष र प्रतिपक्षबीच टकराव सृजना हुने देखिएको छ । त्यसलाई संकेत गर्दै सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष र प्रतिपक्षले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले जनताका चासोका बिषयलाई उजागर गर्दै सरकारलाई उत्तरदायी बनाउन भूमिका खेल्नुपर्ने बताउनुभयो । राष्ट्रिय सभाका सदस्यले पदीय जिम्मेवारी अनुसार काम गर्नुपर्ने उहाँको भनाइ थियो ।