नयाँ अधिवेशनको पहिलो दिन रास्वपाद्वारा १५ मिनेट बहिष्कार

माघ १८, २०८१ | काठमाडौं
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो माग सुनुवाइ नभएको भन्दै नयाँ अधिवेशनको पहिलो दिन प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि बहिष्कार गर्यो ।
हिउँदे अधिवेशन शुरु भएको जानकारी गराउँदै सभामुख देवराज घिमिरेले बैठक अघि बढाउन खोजेपछि सो पार्टीका सांसदले उठेर विरोध जनाएका थिए । आफ्ना सभापति रवि लामिछानेलाई निलम्वन गर्ने सभामुखको निर्णयप्रति आपत्ति जनाउन रास्वपाले समय मागेको थियो ।
तर सभामुख घिमिरेले बैठकमा सबै दलका सांसदले बोल्ने कार्यसूचि रहेकाले शुरुमा बोल्न समय दिन नसक्ने बताएपछि रास्वपाका सांसदहरुले उठेर केहीबेर अवरोध गरेपछि बैठक बहिष्कार गरेका थिए । रास्वपाले बहिष्कार गरेपनि सभामुख घिमिरेले बैठकलाई निरन्तरता दिनुभयो । त्यसपश्चात् १५ मिनेटको बहिष्कारपछि रास्वपाका सांसद बैठकमा फर्किएका थिए ।