तामाङ समुदायले आज सोनाम ल्होछार पर्व मनाउँदै

माघ १७, २०८१ | काठमाडौं

तामाङ समुदायले आज सोनाम ल्होछार पर्व मनाउँदै छन् । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नयाँ वर्षको रुपमा विविध कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाउने गर्छन् । ल्होछारका १२ वटै वर्ग पशुपक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदायलाई प्रकृति पूजक पनि भन्ने गरिन्छ ।

ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधि अनुसार यो पर्व मनाउने गरिन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुशी आदानप्रदान गर्ने गर्दछन् । सोनाम ल्होछारका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

देशका विभिन्न स्थानमा बसोवास गर्ने तामाङ सहित ह्योल्मो, थकाली, जिरेल, भोटे, दुरा, लेप्चा आदि जाति तथा समुदायले आ–आफ्नै शैली र परम्परा अनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध र स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाइँदै छ ।


प्रतिक्रिया