विपिन जोशीको रिहा गर्ने भूमिका खेल्न अरब संसद अध्यक्षलाई नेपालको आग्रह
माघ २५, २०८१ | काठमाडौं
सभामुख देवराज घिमिरेले प्यालेस्टाइनी विद्रोही समूह हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि अरब संसदका अध्यक्षलाई पत्राचार गर्नुभएको छ ।
सभामुख घिमिरेले अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्नुभएको हो । पत्रमा सभामुख घिमिरेले नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि जोशीलाई बन्दी बनाएको थियो ।
जोशीको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको छ । यसअघि परराष्ट्रमन्त्री डा.आरजु राणाले जोशीको रिहाइको पहलस्वरुप इरानका समकक्षीसँग टेलिफोन संवाद गर्नु भएको छ ।
परराष्ट्रमन्त्री राणाले इरानका विदेशमन्त्री सइयद अब्बासलाई फोन गरेर विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नु भएको हो । जवाफमा इरानी विदेशमन्त्रीले हमासका अधिकारीहरूसँग अब हुने बैठकमा आफूले विपिनको रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने बताएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ ।