अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको काठमाडौं उपचार सुरु

फाल्गुन ३, २०८१ | काठमाडौं
पोखरा भ्रमण वर्ष उद्घाटनका लागि आयोजित कार्यक्रममा आगोको ज्वालाले बेलुन फुट्दा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते हुनुभएको छ ।
रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित पड्किएको थियो । घटनामा घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई काठमाडौैको कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ । पौडेल र आचार्यको सघन उपचार कक्षमा उपचार सुरु गरिएको कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले जानकारी दिनुभयो ।
अस्पतालका अनुसार जलनबाट घाइते दुवै जनाको अनुहारको भाग ६ प्रतिशतसम्म जलेको प्रारम्भिक मुल्याङ्कन गरिएको छ । जलनका कारण श्वास नली र फोक्सोमा असर पर्नसक्ने सम्भावना देखिएकाले सघन उपचार शुरु गरिएको अस्पतालले जनाएको छ । मन्त्री पौडेल र आचार्यलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । त्यसअघि दुवै जनाको प्रारम्भिक उपचार पोखरामै गरिएको थियो ।
यसैबीच, सो घटनापछि केहीबेर रोकिएको उद्घाटन समारोहबाट पोखरा भ्रमण वर्ष घोषणा गरिएको छ । भ्रमण वर्षमा आन्तरिक र बाह्य गरी सन् २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । भ्रमण वर्षमा पर्यटकहरुलाई विभिन्न छुट पनि दिइने भएको छ ।
भ्रमण वर्षको अवसरमा प्रचारात्मक अभियान सञ्चालन गर्ने तथा स्वदेशका ५ वटा र विदेशका ५ वटा गरी १० सहरसँग भगिनी सम्बन्ध कायम गर्ने लगायत कार्यक्रम घोषणा गरिएको हाम्रा सहकर्मीले जनाएका छन् ।