राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा मतदान गर्न नेपालको आग्रह

फाल्गुन १५, २०८१ | काठमाडौं

नेपाल सरकारले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा आफ्नो पक्षमा मतदान गर्न विश्व समुदायलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा सहभागी हुने क्रममा जेनेभामा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणाले विभिन्न देशका राजदूत एवं प्रतिनिधिलाई सो आग्रह गर्नुभएको हो । 

जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री राणाले सीमित स्रोत–साधनका बाबजुद मानवअधिकारको रक्षा र प्रवर्धनका क्षेत्रमा भएका काम र प्राप्त उपलब्धिलाई हेरेर नेपाललाई मत दिन आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । कार्यक्रममा एक सयभन्दा बढी देशका राष्ट्रसंघीय स्थायी नियोगप्रमुख तथा राजदूत र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि उपस्थित थिए ।

 अर्को प्रसंगमा मन्त्री राणाले शान्ति प्रक्रियाको क्षेत्रमा नेपालले विश्वकै उदाहरणीय भएर काम गरेको दृष्टान्त पेश गर्नुभएको थियो । मन्त्री डा. राणा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा जानुभएको थियो । उहाँ भोलि स्वदेश फर्कँदै हुनुहुन्छ । 


प्रतिक्रिया