भैरहवामा कांग्रेसको दुई दिने प्रशिक्षण आज सुरु हुँदै

फाल्गुन १९, २०८१ | भैरहवा
सत्तारुढ नेपाली कांग्रेसले रुपन्देहीको भैरहवामा राष्ट्रिय स्तरको दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागको आयोजनामा सोमबारबाट भैरहवामा राष्ट्रिय स्तरको दुई दिने प्रशिक्षण कार्यक्रम सुरु हुने भएको हो ।
भैरहवाको पटवा बैङक्वेट हलमा आयोजना गर्न लागिएको प्रशिक्षणको सोमबार मध्याह्न कांग्रेस सभापति शेर बहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रम उद्घाटनका लागि सभापति देउवा सोमबार बिहान काठमाडौंबाट भैरहवा आउने जनाइएको छ ।
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागका सभापति तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले सोमबार र मंगलबार सञ्चालन हुने प्रशिक्षण मुुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका क्षेत्रीय सभापति र उपसभापति गरेर ३ सय ३० जनाको सहभागिता रहने जानकारी दिनुभयो । प्रशिक्षणमा पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा छलफल गरिनेछ ।
खड्काका अनुसार प्रशिक्षण कार्यक्रममा पार्टीका जिल्ला, प्रदेश र संघीय प्रतिनिधिको सहभागिता रहनेछ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकास शर्मा पनि कार्यक्रममा सहभागी हुनुहुनेछ । गृहमन्त्री रमेश लेखक समेत आउने कार्यक्रम रहेको छ ।
कांग्रेस नेता शेखर कोइराला, मिनेन्द्र रिजाल शनिबारदेखि रुपन्देहीमै हुनुहुन्छ । विभागका सभापति खड्का अनुसार सोमबार बिहान उद्घाटन सत्रपछि कांग्रेसले अहिलेसम्म गरेका नीतिगत सुधार, भौतिक पूर्वाधार लगायत उपलब्धी, संविधान र मुलुकको बिकासका लागि कांग्रेसले खेल्नुपर्ने भूमिका, आगामी महाधिवेशन, क्रियाशील सदस्य, आम निर्वाचन गरी विभिन्न ६ वटा विषयमा प्रस्तुति रहनेछन् ।
यस्तै, सहभागीले आफ्नो क्षेत्रका अनुभव आदानप्रदान गर्नुेका साथै वर्तमान सरकारका काम कारबाहीबारे आलोचनात्मक सुझाव दिने र सरकारमा सहभागी दुई जना मन्त्रीले त्यसको जवाफ दिने कार्यक्रम रहेको पार्टी उपसभापति खड्काले जानकारी दिनुभयो ।