कुमारी सहकारी हिनामिना प्रकरण : अदालतले बयान लिन थाल्यो

फाल्गुन १९, २०८१ | पोखरा

म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिनामा प्रकरणमा पक्राउ परेकासँग जिल्ला अदालतले आइतबार बयान लिएको छ । 

सरकारी वकिलको कार्यालयले गत बिहीबार एक अर्ब १३ करोड बिगो दाबी गर्दै जिल्ला समन्वय समिति प्रमुख समेत रहेका सहकारीका पूर्वसञ्चालक राजकुमार थापा सहित २५ जनाविरुद्ध अदालतमा अभियोगपत्र दर्ता गरेको हो । त्यसै अभियोगका आधारमा थुनामा रहेकाहरुसँग आइतबार बयान लिइएको हो । 

जिल्ला अदालतका श्रेष्तेदार भोलाराज रेग्मीका अनुसार आइतबार सहकारीकी सचिव देवीकुमारी थापाको बयान सकिएको छ । सोमबार अन्य ५ जनासँग बयान लिने र समय रहेसम्म थुनछेक बहस सुरु हुने रेग्मीले बताउनुभयो । 

सहकारी रजिष्ट्रारको कार्यालय पोखराले ९ महिना अघि गरेको छानबिनका आधारमा रकम हिनामिना गर्ने ६ जनालाई पक्राउ गरी प्रहरीले अनुुसन्धान गरिरहेको छ । सहकारी ठगीमा संलग्न १९ जना फरार रहेका छन् । कुमारी सहकारीका पूर्व सचिव, उपाध्यक्ष र ऋण समितिको पदाधिकारी राजकुमार थापा, पूर्व प्रबन्धक रुद्र गुरुङ, सचिव देवीकुमारी थापा, पूर्व अध्यक्ष मनप्रसाद थजाली र थमबहादुर गर्बुजालाई गत माघ २० गते प्रहरीले पक्राउ गरेको थियो ।

लेखा समितिका पूर्व सदस्य लोकबहादुर पुन फागुण ७ गते पक्राउ परेका हुन् । ६ हजार बचतकर्ता रहेको कुमारी सहकारीको पैसा बिना धितो लगेर तत्कालीन सञ्चालकहरुले ढुकुटी खेलाउने, बोर्डिङ स्कूल र घरजग्गामा लगानी गरेको पाइएको छानबिन प्रतिवेदनमा औंल्याइएको छ । 

सहकारीको रकम निजी आर्जनमा लगाएका आधारमा ठगीमा संलग्नहरुलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन पर्नेमा त्यसो नगरी सहकारी ठगीमा मात्र मुद्दा चलाइएको भन्दै बचतकर्ताहरुको असन्तुष्टि जनाएका छन् ।

अनुसन्धानमा खटिएका सहकारी रजिस्टारको कार्यालय पोखराका वित्तीय विश्लेषक निर्मल गौतमले ऐन विपरीत र बिना धितो सहकारीको रकम लगेर आर्जन गरेको पर्याप्त प्रमाण हुँदाहुँदै प्रहरी र सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरणका बारेमा अनुसन्धान समेत नगर्नु ठूलो षड्यन्त्र भएको बताउनुभयो । ‘बचकर्ताको १ अर्ब ४९ करोड रुपैयाँ हिनामिना भएको छ । मैले छानबिन गरेर दिएको प्रतिवेदनमा उनीहरुमाथि सम्पत्ति शुद्धीकरण अनुसार अनुसन्धान गर्न र मुद्दा चलाउन मिल्ने थुपै्र प्रमाण हुँदाहुँदै पनि प्रहरी र सरकारी वकिलले सहकारी ठगीमा मात्र अनुसन्धान गर्नु मिलोमतो र सेटिङ्ग हो’, गौतमले भन्नुभयो, ‘दुबै निकायले अख्तियारको दुरुपयोग गरेका छन् ।’


प्रतिक्रिया