सिराहामा महायज्ञका लागि दलित परिवारको घर भत्काइएको घटनाको संसदभित्र व्यापक विरोध

चैत्र ७, २०८१ | काठमाडौं
सिराहाको औरही गाउँपालिकामा महायज्ञका लागि भन्दै दलित परिवारको घर भत्काएर अन्यत्र सारिएको घटनालाई लिएर सांसदहरुले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले घटनामा संलग्नमाथि कारवाही गर्न समेत माग गरेका छन् । नेपाली कंग्रेसका सांसद जीवन परियारले डोम जातिका परिवारको घर उठीबास गराइएको भन्दै आपत्ति जनाउनुभयो ।
सिराहाको औरही–५ मा बसोबास गर्दै आएका दीपक मलिकको घर महायज्ञका लागि भन्दै डोजर लगाएर भत्काइएको थियो । एमाले सांसद सम्झना थपलियाले दलितमाथिको जघन्य अपराधलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । जनमत पार्टीका सांसद अब्दुल खानले घटनामा संलग्नलाई कारवाही गर्न माग गर्नुभयो । विपन्न परिवारलाई विस्थापित गराइएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
संसद बैठकमा सांसदहरु मनिष झा, प्रभु हजारा र अमरेशकुमार सिंह लगायतले घटनाको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । यसैबीच, सो घटनाको मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । आयोगको जनकपुरस्थित मधेश प्रदेश कार्यालयले घटनाको अनुसन्धान थालेको हो । आयोगले विज्ञप्ति जारी गर्दै घटनाको अनुगमन तथा अनुसन्धानका लागि टोली घटनास्थल गएको जनाएको छ । आयोगले घटनाका विषयमा आवश्यक जानकारी प्राप्तिका लागि जिल्ला प्रहरी कार्यालय, सिरहा र औरही गाउँपालिकाको कार्यालयलाई पत्राचार गरेको छ ।
सिरहाको औरहीमा महायज्ञ गर्ने नाममा दलितको घर भत्काउने कार्यमा संलग्न गाउँपालिका अध्यक्षसहित तीनै जना फरार भएका छन् । गाउँपालिका अध्यक्ष शिवजी यादव, आयोजक बगरंगी बाबा र पूर्ववडाध्यक्ष दिलीप यादव फरार भएका हुन् । घटना सार्वजनिक भएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी प्रमुख रमेश पण्डित आज अपरान्ह घटनास्थल र गाउँपालिका कार्यालयमा जानुभएको थियो । उनीहरु नभेटिएको र सम्पर्कविहीन बनेको पण्डितले बताउनुभयो ।
उनीहरु तीनै जनालाई सम्पर्कमा ल्याइदिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदित्यनारायण कर्णलाई आग्रह गरिएको प्रहरी प्रमुख पण्डितको भनाइ छ । गाउँपालिका अध्यक्ष यादवसहित तीनै जनाले यही चैत १७ देखि हुने महायज्ञका नाममा ३० वर्षदेखि बसोबास गर्दै आएका स्थानीय दीपक मलिकको घर गाउँपालिकाको डोजर लगाएर भत्काइदिएका थिए । अछूत भन्दै त्यहाँबाट हटाइएका मलिक परिवार अहिले गाउँकै एकान्तमा रहेको सामुदायिक विद्यालयको जग्गामा अस्थायी टहरा बनाएर बसिरहेको सिराहबाट हाम्रा सहकर्मी विनय आजादले जनाएका छन् ।