नीति तथा कार्यक्रम आज आउँदै

वैशाख १९, २०८२ | काठमाडौं
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संघीय संसद्मा प्रस्तुत गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नुभएको हो । यसका लागि संसदका दुवै सदनको बैठक दिउँसो तीन बजे बोलाइएको छ । सत्ता साझेदार दलबीच अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा सहमति जुटिसकेको छ । आज सोही अनुरुपको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले पढेर सुनाउनु हुनेछ ।
युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने बुझिएको छ । राष्ट्रपतिको सम्बोधन कार्यक्रमलाई मर्यादित बनाउन सांसदलाई निर्धारित पोशाकमा पौने ३ बजे नै संसदमा उपस्थित हुन आग्रह गरिएको छ ।
आज प्रस्तुत हुने नीति तथा कार्यक्रममाथि यही वैशाख २२ देखि २८ गतेसम्म छलफल गरी पारित गर्ने कार्यसूची राखिएको छ । यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल हुने सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो । प्रि–बजेट छलफलपछि आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीले प्रस्तुत गर्ने कार्यतालिका छ ।