सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति विद्यालय कर्मचारीहरुको आपत्ति

वैशाख १८, २०८२ | काठमाडौं
सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति विद्यालय कर्मचारीहरुले आपत्ति जनाउँदै थप आन्दोलन गर्ने बताएका छन् ।
झन्डै एक महिना आन्दोलन गरेका शिक्षक र सरकारबीच सहमति भएको भोलिपल्ट विद्यालय कर्मचारी परिषद्ले विरोध जनाएको हो । विद्यालय कर्मचारीले तलवमान र सञ्चित विदाबारे आफूहरुको माग सम्वोधन नभएको बताएका छन् ।
परिषद्का अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीको मागमा शिक्षक महासंघ मौन बसेको र सरकारसँगको सहमतिमा त्यसलाई सम्वोधन नगरिएको बताउनुभयो ।
विद्यालय कर्मचारीलाई सञ्चित विरामी विदामा अन्याय भएको परिषद्को भनाइ छ । सरकारसँगको सहमतिबारे समिक्षा गर्न शिक्षक महासंघ लगायत सम्वद्ध संस्थाका प्रतिनिधिबीच काठमाडौंमा छलफल भइरहँदा विद्यालय कर्मचारीले विरोध गरेपछि विवाद भएको थियो ।