लोडसेडिङ शुरु भएको छैनः प्रधिकरण निर्देशक शाक्य

जेष्ठ २, २०८२ | काठमाडौं
नेपाल विद्युत् प्राधिकरणले प्राविधिक कारणले गर्दा हिजो साँझ विद्युत आपूर्ति केही घण्टा अवरुद्ध भएको दावी गर्दै लोडसेडिङ शुरु नभएको बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ४ सय केभी ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनको दुवै सर्किटमा समस्या आएपछि केहीबेर बत्ति गएको बताउनुभएको हो । आज आयोजित पत्रकार सम्मेलनमा शाक्यले लोडसेडिङ हुन लाग्यो भन्ने अफवाहको पछाडी नलाग्न आग्रह गर्नुभयो ।
हावाहुरीका कारण ढल्केबर–मुजफ्फरपुर ४ सय केभी डबल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या आउँदा विद्युत् अवरुद्ध हुन पुगेको प्राधिकरणको भनाई छ । समस्या समाधान गर्न समय लागेकाले विद्युत सेवा रोकिएको कार्यकारी निर्देशक शाक्यले बताउनुभयो । सुधारका लागि काम भइरहेको भन्दै उहाँले प्राधिकरणको संरचनामा थप लगानी गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
कुलमान घिसिङलाई पदबाट हटाएपछि लोडसेडिङ हुन थालेको भन्दै जनस्तरबाट विरोध भइरहेका बेला प्राधिकरणले त्यसको खण्डन गरेको हो । यसैबीच, प्राधिकरणका कार्यकारी निर्देशक शाक्य र उर्जामन्त्री दीपक खड्काबीच विद्युत परियोजनाको सन्दर्भमा पछिल्लो दिनमा तिक्तता उत्पन्न भएको खबरहरु सार्वजनिक भएका छन् ।