नेपालमा लगानीको सम्भावना धेरै छ : राजदूत गौसी

जेष्ठ ३, २०८२ | भैरहवा
नेपालका लागि माल्टाका राजदूत रिउबेन गौसीले नेपालमा लगानीका धेरै सम्भावना रहेको बताउनु भएको छ । बुद्धजन्मस्थल लुम्बिनी भ्रमणका लागि आएका राजदूत गौसीले नेपालमा पनि लगानी गर्न सकिन्छ कि भनेर वातावरण बुझ्न आएको बताउनुभयो । आफू चौथो पटक नेपाल भ्रमणमा आएको उहाँले सुनाउनुभयो ।
राजदूत गौसीसित उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले शुक्रबार राति आयोजना गरेको छलफल कार्यक्रममा बोल्दैं माल्टाले मात्र नभएर युरोपियन युनियनले पनि नेपालमा लगानी गर्न इच्छा जाहेर गरेकाले वातावरण बुझ्न आएको उहाँको भनाई थियो । ‘भारतले पनि माल्टामा धेरै लगानी गरेको छ,’ उहाँले भन्नुभयो, ‘माल्टा सानो मुलुक भएकाले देशभित्रै ठूला उद्योग स्थापना गर्न सक्दैनौं, अहिले धेरै नेपाली माल्टामा छन, त्यहीँ भएर नेपालमा केही गर्न सकिन्छ कि भन्ने चासो रहेको छ ।’
उहाँका अनुसार माल्टामा हस्पिटालिटी, उत्पादन, पठनपाठन र व्यापार क्षेत्रमा नेपाली जनशक्ति क्रियाशील रहेका छन् । नेपाल र माल्टाबीच सन १९८३ देखि कूटनीतिक सम्बन्ध रहेको छ । ‘माल्टामा पनि नेपाली समुदायलाई चिन्न थालिसके,’ राजदूत गौसीले भन्नुभयो, ‘मेरो देश नेपालमा पनि चिनियोस् भन्ने चाहन्छौं ।’
राजदूत गौसीका अनुसार माल्टा समुन्द्रले घेरिएको युरोपको सबैभन्दा सानो मुलुक हो । नेपाल पहाडले घेरिएको मुलुक हो । ‘दुबै मुलुकका आ आफ्नै विशेषता रहेका छन्,’ उहाँले भन्नुभयो, ‘खासगरी नेपालका पर्वतले मलाई लोभ्याउँछन् ।’ माल्टाका बासिन्दालाई पहाड देखाउन भएपनि नेपालमा आकर्षित गर्न सकिने उहाँको भनाई छ ।
उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले राजदूत गौंसीको भ्रमणले दुई मुलुकबीच ४२ वर्षदेखिको कूटनीतिक सम्बन्धलाई निरन्तरता दिन सघाउने बताउनुभयो । ‘उद्योग–व्यावसाय र पर्यटनका क्षेत्रको विकासमा सहकार्य गर्न सकिने अवस्था छ,’ उहाँले भन्नुभयो, ‘लुम्बिनी क्षेत्रमा तीन दिन बिताएर महामहिम राजदूतले लगानीका सम्भावना अवलोकन गर्नुहुनेछ ।’
यस अवधिमा बुद्ध जन्मस्थल लम्बिनीसँगैं अन्य पर्यटकीय गन्तव्यको भ्रमण गर्ने कार्यक्रम रहेको छ । ‘नेपालबाट माल्टाले श्रमिक क्षेत्रमा जनशक्ति प्राप्त गरेको छ,’ शर्माले भन्भुयो, ‘अब नेपालको पर्यटन र उत्पादन क्षेत्रमा माल्टाले लगानी गर्ने वातावरण बनोस् ।’
माल्टाका लागि मानार्थ दूत दीनेश श्रेष्ठले माल्टाको भौगोलिक अवस्था र त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी दिनु भएको थियो । ‘नेपालसित व्यापारिक सम्बन्ध विस्तारका लागि राजदूत गौंसी चौथो पटक भ्रमणमा आउनु भएको हो,’ उहाँले भन्नुभयो, ‘माल्टाका तर्फबाट नेपाल भ्रमण गर्ने उहाँ पहिलो राजदूत हो ।’
नेपाल सन्दर्भ हेर्ने माल्टाको दूताबास भारतको नयाँ दिल्लीमा रहेको छ । समुन्द्रले घेरिएको मुलुक माल्टाका लागि पहाडले घेरिएको देश नेपाल सधैं चासोको विषय रहेको बताउनुभयो । पछिल्लो समय नेपालबाट ठूलो जनशक्ति माल्टा गएपछि दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध परिवारसम्मै पुगेको उहाँले बताउनुभयो ।