दाउन्नेमा गाडी फसेर महेन्द्र राजमार्ग अबरुद्ध

असार ४, २०८२ | नवलपरासी
गएरातिको वर्षाले हिलाम्य बनेको नवलपरासी पूर्वको दाउन्ने सडकखण्डमा गाडी फसेपछि महेन्द्र राजमार्ग अबरुद्ध भएको छ । दाउन्ने खण्डको विश्वकर्मा मन्दिर भन्दा पूर्वतर्फका तीन वटा निर्माणाधिन कल्भर्ट नजिक ट्रक फसेपछि गएरातिदेखिनै राजमार्ग अबरुद्ध भएको हो ।
दुम्कीवासस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजनप्रसाद तिमिल्सिनाका अनुसार मंगलबार रातभर परेको वर्षापछि हिलाम्य भएर दाउन्नेमा राजमार्ग अवरुद्ध भएको हो ।
देशकै लाइफलाइन मानिने महेन्द्र राजमार्गको यो खण्डमा सामान्य वर्षा हुँदा पनि यात्रुले सास्ती व्यहोरिरहेका छन् । राजमार्गमा हिलाम्य भएपछि सावारी साधान आवतजावतमा समस्या भएको छ ।
मंगलबार राति १ बजेबाट रोकिएका मालबहाक गाडी भने अहिलेसम्म गन्तव्यतर्फ जान सकेका छैनन् । साना गाडी सञ्चालन गर्न खोजिए पनि हिलोका कारण समस्या भइरहेको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो ।
दाउन्नेमा राजमार्ग निर्माणको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिंग कर्पोरेशन लिमिटेडले समयमै काम नगर्दा सर्वसाधारणलाई सास्ती भएको हो । राजमार्गमा जता ततै खाल्डा छन् भने माटो सहितको खाल्डोमा पानी पर्नासाथ बाटो हिलाम्य हुने गरेको छ । सो सडक हुँदै यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
यसैबीच, ६ महिना अघि दुम्कीवासस्थित बिनयी खोलाको फलामे पुल भाच्चिएका कारण निर्माण गरिएको डाइभर्सन सडक गएराति फेरि बगाएको छ । गत ३ साताको अवधिमा डाइभर्सन बगाएको यो चौंथो पटक हो । हिजो साँझ निर्माण गरिएको डाइभर्सन राति आएको बाढीले फेरि बगाएको प्रहरीले जनाएको छ ।