प्रधानमन्त्री ओली औपचारिक भ्रमणका लागि स्पेन जाँदै

असार १४, २०८२ | काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ जाँदै हुनुहुन्छ । चार दिने भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली आज त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीको भ्रमण हुन लागेको हो । उहाँले स्पेनको औपचारिक भ्रमणका क्रममा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिने कार्यक्रम रहेको छ ।
भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै, प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तार सम्बन्धी केही महत्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुने मन्त्रालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीले भ्रमणकै दौरान त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तक्र्रिया गर्ने कार्यक्रम छ । नेपालबाट हुन लागेको उच्चस्तरको भ्रमणले नेपालमा विकसित मुलुकबाट हुने लगानी वृद्धिका साथै स्पेन लगायत युरोपली मुलुकका पर्यटक आकर्षणमा योगदान दिने विश्वास गरिएको छ ।
नेपाल र स्पेनबीच सन् १९६८ मे १३ मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि सन् २०१८ मा मात्र त्यहाँ नेपालको आवासीय राजदूतावास स्थापना भएको हो । स्पेनको दूतावास यहाँ नभएकाले दिल्लीस्थित दूतावासले नेपाल हेर्दै आएको छ । स्पेनमा विभिन्न पेसा तथा व्यवसायमा करिब २० हजार नेपाली संलग्न रहेको अनुमान छ ।