चट्याङ लागेर मकवानपुरमा एक बालिकाको मृत्यु

असार १४, २०८२ | मकवानपुर
हावाहुरीसँगै परेको चट्याङ लागेर मकवानपुरमा एक बालिकाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।
राक्सिराङ गाउँपालिका–८ माईसिराङमा शुक्रबार बेलुका परेको चट्याङ लागेर ६ वर्षीया एनिका चेपाङको मृत्यु भएको हो । उनकी आमा २५ वर्षीया रविना चेपाङ घाइते भएकी छन् । भाइते रविनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
घरमा बसिरहेको अवस्थामा एनिका र रविना चट्याङ लागेर घाइते भएका थिए । दुवै जनालाई उपचारका लागि राति नै मनहरीस्थित अस्पतालमा लगिएको थियो । उपचारको क्रममा एनिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालयका निरीक्षक विशाल सापाकोटाले बताउनुभयो ।
यसैगरी राक्सिराङ गाउँपालिकाको चोराङमा चट्याङ लागेर तीन जना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ । मकवानपुरमा चालू आर्थिक वर्षको ११ महिनामा चट्याङ लागेर ५ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।