प्रधानमन्त्रीको स्पेन भ्रमणका क्रममा ‘भिजिट’ भिसामा गएकामाथि अनुसन्धान शुरु

असार ३२, २०८२ | काठमाडौं
स्पेनको सेभियामा भएको राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन ‘भिजिट’ भिसामा गएकाहरु नफर्केपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान शुरु गरेको छ । सीआईबीले प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)होविन्द्र बोगटीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिले हिजोबाटै काम थाल्दै भारतको दिल्लीस्थित स्पेनिस दूतावाससँग सम्मेलनमा सहभागी हुन गएकाको सूची मागेको छ । स्पेनमा असार १६ देखि १९ गतेसम्म आयोजना भएको चौथो ‘इन्टरनेसनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स’ कार्यक्रममा सहभागी हुन गएकामध्ये ७३ जना नफर्किएपछि रकम असुलेर ‘असम्बन्धित मानिस’लाई पठाइएको विषय बाहिर आएको हो । सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २१ सदस्यीय प्रतिनिधिमण्डल १४ असारमा त्यसतर्फ गएको थियो ।
सरकारी प्रतिनिधिमण्डल २० असारमै फर्किसकेको छ । तर, सोही सम्मेलनमा भाग लिन भन्दै दुई साताको अवधिमा सरकारी भ्रमण टोलीबाहेक साधारण भिसा प्रयोग गरी ८२ नेपाली स्पेन पुगेको देखिएको छ । तीमध्ये ७३ जना अझै फर्किएका छैनन् । सोही विषयमा छानबिन गर्न प्रहरी सीआईबीलेसमिति गठन गरेको हो ।
स्पेनबाट नफर्किनेमध्ये कतिपय ‘संगठित गिरोहको योजनामा रकम बुझाएर गएको’ हुन सक्ने आशंका छ । यसबाहेक गिरोहको नेटवर्कबाट स्पेन जान लागेको आशंकामा भिसा पाइसकेका ५५ जनालाई त्रिभुवन विमानस्थलबाटै फर्काइएको थियो । यस विषयमा अनुसन्धान गर्न माओवादी केन्द्र, रास्वपा, राप्रपालगायत दलले माग गर्दै आएकोमा सरकार र सत्तारुढ एमालेले प्रतिवाद गर्दै आएका छन् ।