बुबालाई मिठो मसिनो खुवाई सम्मान पूर्वक बुवाको मुख हेर्न पर्व मनाइँदै

भाद्र ७, २०८२
बुवाको मुख हेर्न पर्व आज बुबालाई मिठो मसिनो खुवाई सम्मान पूर्वक मनाइँदै छ । प्रत्येक वर्ष कुशे औशीका दिन मनाइने बुवाको मुख हेर्ने पर्वमा छोराछोरीहरूले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने चलन छ । बाबु नहुनेले आज विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरेर सिदा दान गर्ने गर्छन् । पर्वको अवसरमा आज काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ । बुबा नहुने हरु आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको बिहानै देखि भीड लागेको छ । यसैले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज आफ्ना ९६ वर्षिय पिता मोहनप्रसाद ओलीप्रति सम्मान व्यक्त गर्दै बुबाको मुख हेर्ने पर्ब मनाउनु भएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत दिवंगत आमाको स्मरण गर्दै जीवित पिताप्रति सम्मान प्रकट गर्नु भएको हो । उहाँले बुबा आमाप्रतिको आदर–सम्मान केवल विशेष दिनमा मात्र नभई सधैं गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।