घर घरमा दर खाएर नेपाली महिलाले आज तिज पर्व मनाउँदै

भाद्र ९, २०८२
काठमाडौँ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज आज दर खाने दिनका रूपमा मनाइँदैछ ।
तिजको अघिल्लो दिन आज महिलाहरु आफ्नो माइती, दिदीबहिनी वा आफन्तको घरमा भेला भएर दर खाने चलन छ ।
भोलि महिलाहरु निराहार व्रत बसेर भगवान् शिव–पार्वतीको पूजा आराधना गर्नेछन् । तिजमा विवाहित महिला आफ्नो पतिको दीर्घायुको कामना गर्दै निराहार व्रत बस्छन् भने अविवाहितहरू सुयोग्य वरको आशा राखी व्रत बस्ने प्रचलन छ । तिजको दिन काठमाडौंको पशुपतिलगायतका देशैभरका शिवालय मन्दिरहरुमा व्रतालुको घुइँचो लाग्ने गर्दछ ।
पछिल्लो समय तीज आउनुभन्दा हप्तौँ अघिदेखि नै दर खाने र खुवाउने कार्यक्रमका कारण स्वास्थ्यमा समस्या देखिन थालेको छ । लामो समयदेखि भारी खानाको उपभोग गर्दा स्वास्थ्य अवस्था खलबलिने भन्दै चिकित्सकहरुले दरका नाममा धेरै खाना नखान सुझाएका छन् । दरका नाममा धेरै खानु वा भारी खानु अनावश्यक मात्र नभई घातक पनि हुन सक्ने तर्फ सचेत रहनुपर्ने विज्ञहरुको भनाई छ ।