जेन जी आन्दोलनः ‘दमन’ र मानवअधिकार उल्लंघनबारे जाँचबुझ आयोग बनाउने सरकारको तयारी

आश्विन १, २०८२ | काठमाडौं
सुशासन र वेथितिविरुद्ध जेन–जी पुस्ताको प्रदर्शनमा भएको ‘दमन’ र मानवअधिकार उल्लंघनको छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठनको तयारी गरेको छ ।
पूर्व न्यायाधीशको नेतृत्वमा आयोग गठन गर्ने तयारी भए पनि आयोग र यसमा रहने व्यक्ति भने टुंगो लागिसकेको छैन । मन्त्रीमण्डललाई पूर्णता दिएपछि जाँचबुझ आयोग गठन गर्ने तयारी भएको बताइएको छ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई जनधनको क्षतिको छानबिन र अनुसन्धान समेत गर्नुपर्ने दवाव छ ।
प्रदर्शनकारीमाथि भएको दमनको जाँचबुझ र दोषीलाई कारबाहीको दायरामा ल्याउनेबाहेक भौतिक सम्पत्ति नष्ट हुने गरी भएको विध्वंसमा संलग्नलाई कहिले कारबाहीको दायरामा ल्याउँछ भन्ने चासो व्यक्त भएका छन् । यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगले प्रदर्शनका क्रममा भएको मानवअधिकार उल्लंघनका घटनामा आयोगकी सदस्य लीली थापाको नेतृत्वमा कार्यदल बनाएको छ ।
४५ दिनभित्र प्रतिवेदन तयार पार्ने गरी काम अघि बढाइएको आयोगले जनाएको छ । जेनजी प्रदर्शनका क्रममा युवा–विद्यार्थीसहित सुरक्षाकर्मी, कैदीबन्दी गरी ७३ जनाको ज्यान गइसकेको छ ।