प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता

भाद्र ३१, २०८२ | काठमाडौं
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवासमा भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएको उहाँको सचिवालयले जनाएको छ । भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उहाँहरुबीच छलफल भएको थियो ।
सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित संघीय संसद भवन तथा सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भएको क्षतिका बारेमा जानकारी गराउनुभएको छ ।
भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रिय सभाको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय संकटलाई सही निकास दिन सबैले सहकार्य गरेर अघि बढ्न आग्रह गर्नुभएको थियो ।