विभिन्न स्थानमा बर्षा, यात्रामा सर्तकता अपनाउन आग्रह

रेडियो कान्तिपुर संवाददाता

आश्विन १८, २०८२ | काठमाडौं

मुलुकका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको हो । बङ्गालको खाडीबाट आएको मनसुनी वायूको प्रभावका कारण आज र भोलि देशभरको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागमा अधिक वर्षाको सम्भावना छ । त्यसैगरी आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मेघगर्जनसहितको भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा देशभर ६४ मिलिमिटर वर्षा भएको छ । यो अवधिमा मधेस प्रदेशमा सबैभन्दा धेरै वर्षा भएको छ । विभागका अनुसार पछिल्लो ६ घण्टामा मधेस, बागमती र गण्डकीमा धेरै वर्षा भएको छ भने कोशी, लुम्बिनी र सुदूरपश्चिममा भने मध्यम वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा भने गोदावरी स्टेशनमा सबैभन्दा धेरै ४१ मिलिमिटर वर्षा मापन गरिएको छ । स्थानीय प्रशासनले यात्रा गर्दा सर्तकता अपनाउन आग्रह गरेका छन् ।


प्रतिक्रिया