रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश

कार्तिक २०, २०८२ | काठमाडौं

तुलसीपुर उच्च अदालतले बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सुरुवाती मिसिल झिकाउने आदेश दिएको छ ।

तुलसीपुर उच्च अदालत बुटवल इजलासमा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सुरु मिसिल मगाउने आदेश भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताउनुभयो । यसअघि, कात्तिक १३ गते तोकिएको पेसी जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो । त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले जोशीसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश दिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । यद्यपी, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए । यद्यपी, दुवै प्रतिवादीको भागमा बिगो कायम हुने बारे यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश भएको थियो । पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् । 


प्रतिक्रिया