एमालेमा दुई वटा प्यानल प्रतिस्पर्धा गर्दै

रेडियो कान्तिपुर संवाददाता

मंसिर २९, २०८२ | काठमाडौं

एमालेमा अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र इश्वर पोखरेल पक्षले प्यानल बनाएर नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । लगातार तेस्रो पटक अध्यक्ष बन्ने योजनामा रहेका ओलीले विष्णु पौडेल रामबहादुर थापा, गुरू बराल, पृथ्वीसुब्बा गुरूङ र प्रदीप ज्ञवालीलाई उपाध्यक्षमा प्रतिस्पर्धा गराउने तयारी गर्नुभएको छ । तर नेता ज्ञवाली महासचिव नपाएको भन्दै असन्तुष्ट रहेको बताइन्छ । ओली प्यानलबाट महासचिवका लागि शंकर पोखरेल तथा उपमहासचिवमा रघुवीर महासेठ, विष्णु रिमाल, लेखराज भट्ट उम्मेदवार हुने तय भएको छ । भट्टलाई शुरुमा सचिव दिने भनिएपनि उहाँले असन्तुष्टी जनाएपछि उपमहासचिवका लागि प्रतिस्पर्धा गर्ने टुंगो लागेको बताइएको छ । 

ओली प्यानलबाट सचिवमा पद्मा अर्याल, छविलाल विश्वकर्मा भानुभक्त ढकाल, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराई उम्मेदवार हुने भएका छन् । सचिवको दौडमा रहेका अधिकारी, राई, कार्की र कडेल मुख्यमन्त्री भइसकेका नेता हुन् । नेता पृथ्वी सुब्बा गुरुङ र प्रदीप ज्ञवालीले महासचिवमा दावी गरेपनि ओलीले १० औं महाधिवेशनबाट महासचिव बनेका शंकर पोखरेललाई रोज्नुभएको हो । पदाधिकारीका लागि आकाक्षा राखेका नेता राजेन्द्र गौतम र अग्नी खरेल भने ओलीको प्यानलमा अटाउन सकेनन् । उनीहरुमध्ये गौतमले उपमहासचिव र खरेलले सचिवमा उम्मेदवारी दिने सम्भावना छ ।

यसैबीच, लगातार दुई पटक अध्यक्ष भएका ओलीलाई चुनौती दिने तयारीसहित प्रतिस्पर्धामा उत्रिएका इश्वर पोखरेलको प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । त्यस्तै, उपाध्यक्षमा गोकर्ण विष्ट, विन्दा पाण्डे, परशुराम मेघी गुरूङ, अरूण नेपालको नाम टुंगो लागेको छ । पोखरेल पक्षले एक उपाध्यक्षको उम्मेदवार छान्न बाँकी छ । उपमहासचिवमा योगेश भट्टराई र वैजनाथ चौधरीको नाम मात्रै टुंगो लागेको नेताहरुले बताएका छन् । 

त्यस्तै, संस्थापन इतर पक्षबाट सचिवमा कर्ण थापा, गोकुल बास्कोटा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरूषोत्तम पौडेल उम्मेदवार बन्ने भएका छन् । ओलीको टिममा नपरेपछि असन्तुष्ट भएका नेतालाई समावेश गर्ने प्रयास जारी रहेकाले पोखरेल पक्षले एक उपाध्यक्ष, एक उपमहासचिव र ३ जना सचिवका लागि उम्मेदवार बनाउन बाँकी छ । एमालेको संसोधित विधान अनुसार एक अध्यक्ष, ५ उपाध्यक्ष, एक महासचिव, ३ उपमहासचिव र ९ सचिवका लागि प्रतिस्पर्धा हुँदैछ । 

निर्वाचनका लागि मनोनयन दर्ता गर्ने प्रक्रिया शुरु भइसकेको छ । अहिले धमाधम मनोनयन पत्र वितरण भइरहेको छ । निर्वाचन समितिले अपरान्ह ४ बजेभित्र उम्मेदवारको प्रारम्भिक सूचि सार्वजनिक गर्ने तयारी गरेको छ । थुप्रै महिला नेतृत्वले पदाधिकारीका लागि इच्छा व्यक्त गरेपनि अहिलेसम्म ३ जना महिला मात्र उम्मेदवार बन्ने देखिएको छ । एकीकृत समाजवादी परित्याग गरी केही समयअघि एमाले फर्किएकी नेतृ रामकुमारी झाक्री समेत पदाधिकारीका लागि कुनै टीमबाट उम्मेदवारमा समावेश हुनुभएको छैन । आजै साँझ उम्मेदवारको अन्तिम सूचि सार्वजनिक हुने र भोलि मतदान हुने तालिका बनाइएको एमालेले जनाएको छ । 


प्रतिक्रिया